उत्तरी छिमेकी चीनको संसद जनकंग्रेसका अध्यक्ष ली चान्शु सोमबारदेखि नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका चान्शुले हिजैदेखि भेट राजनीतिक भेटघाट सुरू गरेका छन् । उनको आवातजावतले काठमाडौंको ट्राफिक व्यवस्थापना भने अस्तव्यस्त बनेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सूचना नै जारी गरेर वैकल्पिक बाटोको प्रयोग गर्न भनेको छ । रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा जाम हुनसक्ने भन्दै वैकल्पिक बाटोको प्रयोग गर्न भनेको थियो ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणको आज दोस्रो दिन पनि काठमाडौंको बानेश्वर क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।
बानेश्वरस्थित संसद भवनको भेटघाट कार्यक्रमले गर्दा आज बानेश्वर क्षेत्रमा यातायातका साधन विहानदेखि नै प्रभावित भएको छ । उनले संसद भवनमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका छन् ।
प्रहरीले बानेश्वर क्षेत्रको सडकमा केहि समय गाडी रोक्नुको साथसाथै फुटपाथमा सर्वसाधारणलाई हिँड्न पनि रोक लगाएको थियो । अहिले भने गाडी र पैदलयात्रीको आवतजावत सुरु भैसकेको छ ।