टेस्लाको चर्चित इलेक्ट्रीक कार ‘मोडल वाई’ नेपाल आइसकेको छ । नेपालमा अरेटी इन्टरनेशनलले टेस्लाको मोडल वाईलाई नेपालसम्म ल्याइपुर्याएको हो ।
अरेटी इन्टरनेसनलले एक युनिट गाडी नेपाल ल्याएर बिक्री पनि गरिसकेको बताएको छ भने थप युनिट गाडीका लागि बुकिङ खुल्ला गरेको छ । उसले बुकिङ लिएको गाडीहरु कम्तिमा ३ महिनामा मात्रै डेलिभर दिन सक्ने बताएको छ ।
टेस्लाको मोडल वाईलाई अधिकतम सुरक्षित कार मानिन्छ । यो मोडलको मुख्य विशेषता नै यसले दिने सुरक्षाको अधिकतता भएको कम्पनीले बताएको छ । मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ । यसका अतिरिक्त कम्पनीले यसमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर प्रदान गरेको छ ।
टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ ।
टेस्लाको मोडल वाई रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । रियर ह्वील ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ सिस्टममा अगाडि र पडाडि रहेको दुबै मोटरको कम्वाइन्ड मोटरको पावर २९१ किलोवाट रहेको छ । साथै, कम्पनीले यसमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
नेपाली बजारमा रियर ह्वील ड्राइभ अप्सनको मूल्य १ करोड ६० लाख रुपैयाँ तोकिएको छ भने अल ह्वील ड्राइभको १ करोड ७५ लाख मूल्य निर्धारण गरेर कम्पनीले बुकिङ खुल्ला तथा विक्री सुरु गरेको हो ।