पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ। विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको यो सडकको पुनर्निर्माणको प्रगति भने निराशाजनक छ ।
तीन जिल्लामा पर्ने नारायणगढ-बुटवल खण्डलाई गैंडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । गैंडाकोट-दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने-बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड) मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ ।
सडक विस्तार सुरु भएदेखि नै कामले गति लिन सकेको छैन । कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरु भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन् । निर्माणाधीन सडक भएर यात्रा गर्ने यात्रका साथै स्थानीयवासी धुवाँ र धुलोका कारण आजित भएका छन् । सडक विस्तारका क्रममा केही ठाउँमा पानी हालेर धुलो उड्न नदिइने गरेको भए पनि सबै ठाउँमा पानी नहाल्दा समस्या हुँदै आएको छ ।
सडक विस्तारको काम सुरु भएको केही महिनापछि नै कोभिड-१९ को महामारीका कारण सडक निर्माण प्रभावित बन्न पुग्यो । पहिलो लहरका बेलामा सडक विस्तारको काम निकै प्रभावित भएको थियो । सडक विस्तारमा खटिएका मजदुरले बेलाबेलामा विभिन्न माग पनि राख्दै निर्माणको काम नै ठप्प पारे ।