नेपाल सरकारले कोरियन कम्पनी मोट्रेक्सलाई विद्युतीय गाडी उत्पादनको लागि अनुमति दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लगानी बोर्डका अध्यक्षको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । कम्पनीले वार्षिक ५० हजार युनिट गाडी उत्पादन र एसेम्बलिङ गर्ने लक्ष्यले बोर्डलाई प्रस्ताव गरेको हो ।
कम्पनीले नेपालमा सबै गाडी उत्पादन गर्ने उद्देश्यले प्रस्ताव पेश गरेको थियो तर प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समयमा विद्युतीय गाडीमा केन्द्रित भएर काम गर्नुपर्ने भन्दै विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो ।
प्रस्तावमा कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लागतमा एसेम्बलिङ र उत्पादन गर्ने उल्लेख गरेको छ । साथै, कम्पनीले मोतिपुर औद्योगिक क्षेत्र बुटवलमा एसम्बल प्लान्ट स्थपना गर्नेछ । कम्पनीले सेगमेन्ट ‘ए’अन्तर्गत ३४ हजार प्यासेन्जर, सेगमेन्ट बीअन्तर्गत १५ हजार एसयूभी गाडी र सेगमेन्ट सीअन्तर्गत कमर्सियल एक हजार गाडी उत्पादन गर्नेछ ।
उद्योग स्थापनाको लागि कुल ७३.६ एकड जग्गा आवश्यक रहेको छ। पहिलो चरणमा २४.७ र दोस्रो चरणमा ४८.९ एकड जमिन आवश्यक पर्ने लगानी बोर्डले जनाएको छ ।