सुरक्षाका हिसाबले बाइक छोटो दुरीमा कुदाउदा पनि होसियारी आवश्यक हुन्छ । लामो यात्रामा होसियारी झन् धेरै आवश्यक हुन्छ । तर लामो यात्रा भन्नुको अर्थ काठमाण्डौँबाट धरान, दमक वा विर्तामोड जानु अथवा, बुटवलदेखि काठमाण्डौँ आउनु मात्रै पनि हुदैन । केहि किलोमिटरमा नै मौसम परिवर्तन भएको हुन सक्छ, यसैले फेरिने मौसमका लागि पनि तयारी आवश्यक हुन्छ । यस्तोमा लामो यात्रा गर्दा के के कुरामा तयार हुने भन्ने अलमल हुन सक्छ, यहाँ हामीले बाइकमा लामो यात्रा गर्दा दुख नपाउने हो भने चालकले थाहा पाउनै पर्ने १० कुराहरु समेटेका छौँ ।
१. आफ्नो सुरक्षा पहिलो शर्त बनाउनुहोस्
बाइक चलाउँदा बखतमा आफ्नो कारणले मात्रै दुर्घटना हुदैन, अरु कसैका कारणले पनि दुर्घटना हुन सक्छ । अझ लामो यात्राका क्रममा त दुर्घटना हुन सक्ने सम्भावना झन् बढ्छ । यसैले सम्भावित दुर्घटनाबाट कसरी कम क्षति पुर्याउने भन्ने बारेमा पहिले नै सजग हुनु पर्छ । यसैले आफ्नो सुरक्षालाई पहिलो शर्त बनाउनुहोस् । बाइक कुदाउदा गर्मी मौसम भए पनि अलिक बाक्ला लुगा लगाउनुहोस् । हातमा बाक्ला पञ्जा तथा घुँडा र कुहिना जोगाउने कुराहरु पनि गतिला प्रयोग गर्नुहोस् । यस्ता साधनहरुले दुर्घटनाबाट हुने क्षति कम गराउँछन् ।
२. आफ्नो सहजतामा रहनुहोस्
तपाईलाई के सहज हुन्छ भन्ने जानकारी तपाईलाई मात्रै हुन्छ । कुन बाटोमा बाइक कसरी कुदाउदा सहजता हुन्छ वा कुन बाइकमा यात्रा गर्दा तपाईलाई सजिलो हुन्छ भन्ने कुरा ख्याल गर्नुहोस् । स्टाइलका लागि वा अरुलाई देखाउनका लागि आफ्नो सहजतामा सम्झौता नगर्नुहोस् । अफ्ठ्यारो हुँदाहुँदै चलिहाल्छ नि भनेर सम्झौता गर्नु भयो भने लामो यात्रामा निकै दुख दिन्छ ।
३. बाटो बारेमा पहिले नै जानकार हुनुहोस्
आफुले यात्रा गर्नु पर्ने बाटो पहिले यात्रा गरेको भए पनि अवस्था के कस्तो छ भन्ने जानकारी लिनुहोस् । यसले गर्दा आफ्नो यात्रामा केहि परिवर्तन गर्नु पर्ने भएका परिवर्तन गर्ने अवसर पाइन्छ । बिच बाटोमा पुगे पछि अफ्ठ्यारो भोग्न पर्दैन ।
४. मौसमको पुर्वजानकारी थाहा पाउनुहोस्
तपाईले यात्रा गर्ने दिनमा मौसम कस्तो रहन्छ ? के कस्ता सामग्रीहरु साथै राख्नु पर्छ ? बाटोमा कुन स्थानमा कस्तो मौसम रहन्छ ? यी सबै कुराहरुको पुर्वजानकारीहरु लिनुहोस् । आफु हिड्नु पर्ने र पुग्ने ठाउँको मात्रै मौसम याद गरेर यात्रा थाल्ने हो भने लामो यात्रामा बिचमा अर्कै मौसम हुन सक्छ । यसका लागि तपाईले पहिले नै थप कुराहरु बोक्नु पर्ने हुन सक्छ ।
५. बाइकको अवस्था जाँच गर्नुहोस्
लामो यात्रामा हिड्नु भन्दा पहिले आफ्नो बाइकको अवस्था कस्तो छ भन्ने जाँच गर्नै पर्छ । बनाउनु पर्ने सामानहरु बनाएर बाइकलाई तन्दुरुस्त राख्नु पर्छ । साथै सामान्य रेन्च वा थोरै डोरी वा बलियो सानो झोला पनि राख्नु भयो भने यात्रामा ति कुराहरु प्रयोग हुन सक्छन् ।
६. यात्रामा खुसी रहनुहोस् र खुसी दिनुहोस्
यात्रामा आफ्नो मुड नबिगार्नुहोस् । मनस्थिति खुसी बनाउनुहोस् । यस्तै बाटोमा पनि अरुलाई खुसी बनाउने प्रयत्न गर्नुहोस् । हतार नगरेर अरुलाई पालो दिने गर्दा पनि अरु खुसी हुन्छन् । कसैसँग साक्षात्कार गर्दा उनीहरुलाई सम्मान गर्ने हो भने पनि उनीहरु खुसी हुन्छन् । यस्ता कुराहरु याद गर्नुहोस् ।