पहिरो खसेर बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को विभिन्न ठाउँमा आइतबार राति पहिरो खसेको हो । पहिरोको कारण ७६ किलोमिटर लामो सो सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायतका दैनिक उपभोग्य र निर्माण सामग्रीहरु पनि रोकिएको छ ।
सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर पहिरो हटाउने र सडक मर्मत थालिएको छ ।