आगामी वर्षदेखि लागू हुने गरी गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ ।
हाल वार्षिकरूपमा ४० हजार कर तोकिएका २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको छ । यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ । चालू वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा अब नयाँ वर्गीकरण गरेर ३५ सय सीसी क्षमताका गाडीहरुले छुट्टै कर तिर्नुपर्ने भएको छ । उनीहरुले वार्षिक ६५ हजार तिर्नुपर्ने सरकारले जनाएको छ ।
एक हजारदेखि १५ सय सीसी क्षमताका गाडीको कर तीन हजारले बढेको छ । त्यस्तै दुइपांग्रे सवारीमा पनि सीसी छुट्याएर कर लिने भएको छ । १२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० भन्दामाथि गरी ६ वटा प्रकार तय गरिएको छ । अब १२५ सीसी क्षमताका सवारीले ३ हजार, १५० सम्म ५ हजार, २२५ सम्म ६ हजार ५ सय, ४ सयसम्म ११ हजार, ६५० सम्म २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको छ ।
हालसम्म कर नलिइएको विद्युतीय गाडीमा पनि अब कर लाग्ने भएको छ ।