नेपालको लागि प्योर ईभी दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले नयाँ इलेक्ट्रिक मोटरसाइकल इट्राइस्ट ३५० (eTryst 350) सार्वजनिक गरेको छ । प्योर ईभीले नेपाली बजारमा इट्राइस्ट ३५० इलेक्ट्रिक मोटरसाइकलको बुकिङ सुरु गरेको घोषणा गरेको छ । यसको नेपाली बजारमा मूल्य रु ३ लाख ९९ हजार रहेको छ ।
इट्राइस्ट ३५०को सामान्य पेट्रोल-संचालित कम्युटर बाइकको जस्तै बडी डिजाइन रहेको छ, केवल इन्जिनलाई ब्याट्री प्याक र इन्धन ट्याङ्कीलाई चार्जिङ सकेटको रूपमा परिवर्तन गरेको छ । बाइकमा सबै एलईडी हेडलाइट (डीआरएलसहित), टेल लाइट र इन्डिकेटरहरू रहेका छन् ।
प्योर ईभी इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको लिथिएम आयोन ब्याट्री रहेको छ । यसको चार्जर मार्फत बाइकलाई फुलचार्ज गर्न ६ घण्टा लाग्दछ र फुलचार्जमा बाइकले ९०-१४० किलोमिटरको दायरा प्रदान गर्दछ ।
बाइक तीन सवारी मोडमा आउँछ: ड्राइभ, क्रस ओभर र थ्रिल, र यसले थ्रिल मोडमा ८५ किमी प्रतिघण्टाको गति लिन सक्छ । साथै, यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ ।