मारुती सुजुकीले आफ्नो बहुप्रतीक्षित मारुती कम्प्याक्ट एसयूभी ‘मारुती ग्रान्ड भिटारा’ जुलाई २० मा भारतमा लन्च गर्ने भएको छ । मारुती सुजुकी इन्डियाले ग्रान्ड भिटाराको प्रि-अर्डर समेत लिन सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा प्रि-अर्डरको रुपमा ११ हजार लिने भएको छ ।
नयाँ मारुती ग्रान्ड भिटारा, ग्लोबल-सी प्लेटफर्ममा डिजाइन र निर्माण गरिएको छ जसले नयाँ ब्रेजा,एस-क्रस र ग्लोबल भिटारा एसयूभीलाई सर्पोट गर्दछ । हालै भारतीय बजारमा लन्च भएको हाइराइडर सुजुकी एसयूभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ ।
यो मोडल भारतको कर्नाटकको बैंगलोर नजिकै बिदादीमा रहेको टोयोटाको प्लान्ट २ मा उत्पादन हुने कम्पनीले जनाएको छ । यसको नयाँ उत्पादन अगस्ट २०२० बाट सुरु हुनेछ । कम्पनीले यसलाई ग्लोबल मोडल बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्थापन गर्न, निर्यात गर्ने योजना बनाएको छ ।
यसमा मारुती सुजुकीको बलेनो र नयाँ ब्रेजालगायतका नयाँ मोडलहरूसँगै परिवर्तनहरू हुनेछन् । नयाँ ग्राण्ड भिटारा नयाँ डुअल टोन फ्रन्टको साथ आउने अपेक्षा गरिएको छ, जसमा हनीकम्ब ग्रिल र डुअल एलईडी डीआरएलसहित स्प्लिट एलईडी हेडल्याम्प सेटअप गरिएको छ। यसको अगाडीको डिजाइन ग्लोबल स्पेस सुजुकी ए-क्रससँग मिल्दोजुल्दो हुने अपेक्षा गरिएको छ। साथै, क्याबिनको लेआउट पनि हाइराइडरसँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ । यसमा सफ्ट टच सामग्रीसहितको प्याडेड लेदर ड्यासबोर्ड, लेदर स्टेयरिङ ह्वील र सिटहरू हुनेछन् ।
यसमा प्यानोरामिक सनरुफ, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश गरिएको छ ।साथै, यसमा ३६० डिग्री क्यामेरा, हेड-अप डिस्प्ले, कनेक्टेड कार टेक, भेन्टिलेटेड फ्रन्ट सिट र अटोमेटिक एसी जस्ता हाइ-टेक फिचरहरु रहेका छन् ।
यो गाडीले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी एस्टोर, स्कोडा कुशाक र वीडब्लू ताइगुनलाई टक्कर दिने अनुमान गरिएको छ ।