नेपाल विद्युत प्राधिकरणले केहि समय पहिला देशभरका मूख्य शहर र राजमार्गमा ५१ वटा चार्जिङ स्टेशन राख्ने भनेको थियो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा मूख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्टका पार्किङ स्थलमा जग्गा बाहेकको सम्पूर्ण लागत प्राधिकरणको हुने गरि ५१ वटा चार्जिङ स्टेशन राख्ने भनेको थियो ।
५१ चार्जिङ स्टेशन मध्ये २६ वटा चार्जर नेपाल आएको छ । चार्जिङ स्टेशन निर्माणको काम चीनको वाङबाङ डिजिटल इनर्जीलाई दिइएको छ । उपत्यका र उपत्यका बाहिर विभिन्न ठाउँमा चार्जिङ स्टेशन राख्ने प्राधिकरणको योजना अनुसार काम अगाडी बढेको छ ।
चार्जिङ स्टेशनमा पेट्रोल पम्प जस्तो मानिस बसिरहनु पर्दैन । चार्जिङ स्टेशनमा पुगेर गाडि चार्ज गर्नु अघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नसकिनेछ । गाडीधनीले अगाडि नै बुकिङ गरेर गाडी चार्जिङको समय लिन सक्ने छन् ।