संसारको सबैभन्दा लामो कार कति लामो होला ? संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? अनुमान गर्न सक्नुहुन्छ ? वास्तवमा संसारको सबैभन्दा लामो कार तपाईंको कल्पनाभन्दा पनि झनै भव्य तथा अनौठो छ । हो, यो १०० फिट भन्दा लामो छ । तर यो भन्दा पनि महत्वपूर्ण के छ भने यसमा हट टब, स्विमिङ पुल र हेलिप्याड समेत छ । यो कार बनाउनका लागि एक, दुई होइन पूरै १२ वर्ष लागेको थियो ।
संसारको सबैभन्दा लामो यो कारको नाम ‘अमेरिकन ड्रिम’ हो । यो निकै पुरानो कार हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले यसलाई संसारको सबैभन्दा लामो कारको रुपमा सन् १९८६ मा दर्ज गरेको थियो ।अमेरिकाको मियामी निवासी डेभलपर माइकल डेजरले यसको रिस्टोर गरेका हुन् । यो ३०.५४ मिटर लामो अर्थात १०० फिट र १.५० इन्च छ भने यसमा २६ ह्विल छन् । त्यसैगरी यसमा ७५ यात्रीका लागि कोठा छन् ।
यसलाई भविष्यमा इलेक्ट्रिक भेइकलको रुपमा समेत विकास गर्ने योजना भएको बताइएको छ । यदि त्यसो भयो भने यो संसारकै सबैभन्दा लामो इलेक्ट्रिक भेइकल समेत हुनेछ । मुख्यरुपमा फिल्महरुमा प्रयोग गर्नका लागि यो कार निर्माण गरिएको थियो । कारलाई भाडामा पनि दिइन्थ्यो । कारको भाडा प्रतिघण्टा २ सय अमेरिकन डलरसम्म हुन्थ्यो ।