बंगलादेशमा पद्मा नदीमाथि देशकै लामो ६.१५ किलोमिटर लामो पुल बनेको छ । प्रधानमन्त्री शेख हसिनाले पद्मा नदीमाथिको ऐतिहासिक पुल उद्घाटन गरेकी छन् । यो पुलले बंगलादेशको राजधानी ढाकालाई दक्षिणपश्चिमी क्षेत्रसँग जोड्छ ।
पुलको निर्माण कार्य नोभेम्बर २०१५ मा सुरु भएको थियो जसले देशको दक्षिणपश्चिमका २१ जिल्लाहरूलाई सडक र रेल मार्फत ढाकासँग जोड्छ । पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भने मूनि रेलवेको सिंगल ट्रयाक छ । ३.८६ अर्ब अमेरिकी डलर को निर्माण लागतको साथ, यो बंगलादेशले अहिलेसम्म गरेको सबैभन्दा ठूलो मेगा परियोजनाहरू मध्ये एक हो र सम्पूर्ण रकम बंगलादेश सरकारले आफ्नै लगानी गरेको हो ।
२०१२ मा, विश्व बैंकले भ्रष्टाचारको आरोप पछि परियोजनाको लागि दिएको १.२ बिलियन ऋण सम्झौताबाट फिर्ता लिएको थियो । यसपछि, एसियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायतका अन्य दाताहरूले पनि परियोजनाबाट हात झिकेका थिए ।
शनिबार पुलको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताइन्। उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन् ।