टाटा मोटर्सले नाडा शोको अवसार पारेर नेपालमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । टाटाको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामी भदौ ७ गतेबाट हुने नाडा अटो शो २०२२ मा टाटा नेक्सन म्याक्स मोडल सार्वजनिक गरेको हो ।
टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक नेक्सन ईभीको नयाँँ भेरियन्ट नेक्सन म्याक्सको फ्लोर प्यान मुनि ४०.५ किलोवाट आवरको ब्याट्री रहेको छ जुन स्ट्यान्डर्ड मोडल भन्दा ३३ प्रतिशत बढी हो । गाडीले सिंगल चार्जमा ४३७ किलोमिटरसम्मको रेन्ज दिनेछ । लिथियम-आयन ब्याट्रीले अगाडिको एक्सलमा राखिएको विद्युतीय मोटरलाई पावर दिने काम गर्छ जसले १४३ बीपीएच र २५० एनएम टर्क उत्पादन गर्दछ । यो इलेक्ट्रिक एसयुभीले ९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्दछ ।
टाटा इलेक्ट्रिक एसयुभीमा चार्जिङका लागि स्ट्यान्डर्ड ३.३ किलोवाट चार्जर र ७.२ किलोवाट एसी फास्ट चार्जर गरि २ विकल्पहरु रहेका छन् । ३.३ किलोवाट चार्जरबाट १५-१६ घण्टा र ७.२ किलोवाट एसी फास्ट चार्जरबाट ५-६ घण्टामै फुल चार्ज गर्न सकिने छ ।
ठूलो ब्याट्री प्याक राखिएको भएतापनि नेक्सन ईभी म्याक्सले ३५० लिटरको बुट स्पेस प्रदान गरिरहने कम्पनीले जनाएको छ । साथै एकपटकको फुल चार्जमा गाडीले ४३७ किलोमिटरको रेन्ज दिनेछ ।
नेक्सन ईभी म्याक्समा तीनवटा ड्राइभ मोडहरू छन् – सिटी, स्पोर्ट र इको । साथै, यसमा भेन्टिलेटेड सिटहरू, वायरलेस स्मार्टफोन चार्जिङ, अटो डिमिङ, एयर प्युरिफायर, क्रुज कन्ट्रोल, पार्क मोडजस्ता फिचरहरु रहेका छन् ।
ग्राहकहरुको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटो होल्डसहित इलेक्ट्रोनिक पार्किङ ब्रेक र ४ डिस्क ब्रेकसहितको ईएसपी जस्ता सुविधाहरू समावेश गरेको छ ।