त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूलाई राती काठमाडौंबाहिर तोकिएको विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ तर अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन् । त्यसैले बिहान सबै जहाजहरुले उडान गर्दा एयर ट्राफिक जाम हुने समस्या बढेको हुनाले यो निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार अहिले ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन् । अब यी मध्ये २० वटा हेलिकप्टरले काठमाडौँ बाहिरको बिमानस्थलमा पार्किंग गर्नु पर्ने भएको छ ।
त्यस्तै जहाजको हकमा हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन् । अब असार १३ गते देखि यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन् । ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्ने भएको छ ।
एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।