अर्थमन्त्री जनार्दन शर्मा र काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीबीच अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य दैनिकरुपमै बढ्न थालेपछि राज्यले अरु विकल्पहरु खोज गर्न अनुसन्धानहरु थालेको छ । विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले सुरुआतमा सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
‘हाइड्रोजन प्लान्ट लगाउने बिषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं । तपाईहरु पनि तयारी गर्नुस् । र, हप्ता-दश दिन भित्र पुनः अर्को बैठक बसाैं’ अर्थमन्त्री शर्माले भने ।
छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख बिराजसिंह थापाले १ सय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्नेगरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको जानकारी गराए।
हिमालयन देशको शुद्ध पानी प्रयोग गरेर सजिलैसँग हाइड्रोजन उत्पादन गर्न सकिने धेरै अध्यनले देखाएको छ । त्यसैले नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो र सजिलो हुने अनुमान गरिएको छ ।