भन्सार शुल्कमा छुट दिँदा पनि चीनमा १४ लाख पर्ने गाडी नेपाल आइपुग्दा ३८ लाखमा बिक्रि गर्ने घोषणापछि सबै तिर बाट बिरोध भएपछी सिजी मोटर्सले स्पष्टिकरण दिएको छ ।
बिनोध चौधरीका छोरा निर्वाण चौधरीले एक बिज्ञप्ति जारी गर्दै नेपाल आइपुग्दा मूल्य बढ्नुको कारण बताएका छन् । बिशेषगरि बिभिन्न पाँच कारणले गर्दा नेपालमा उक्त गाडीको मुल्य ३८ लाख भएको सिजी मोटर्सले जनाएको छ।
यस्ता छन् कारणहरु:
पहिलो, नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ । त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन । तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ । यसरी दिइएको सहुलियत चिनबाट निर्यात हुने कारमा लागु हुँदैन ।
दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन् । जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन् । उदाहरणकोलागि जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन÷एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ । यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउँने हुन्छ । तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुदैन ।
तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ । यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन् ।
चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ) बाट गुड्ने गाडी प्रचलनमा छन् । नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको छ । आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ । यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ । उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ । त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ ।
पाँचौं, नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ । यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ। चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ ।
केहि व्यक्तिले निजि स्वार्थका लागि अभियान नै थालेर आफुहरु बिरुद्द गलत प्रचार प्रसार गरिएको समेत सिजी मोटर्सले आरोप लगाएको छ। निटा भीको मूल्यबारे फैलाईएको अफवाहको पछि नलाग्न होजोन र सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।