एक इटालियन महिलाले आफ्नो ड्राइभिङ लाइसेन्स १०० वर्षको उमेरमा नवीकरण गराएकी छिन् । उनी पछिल्लो समय रेकर्डमा आएका १०० वर्षको उमेरमा लाइसेन्स नवीकरण गर्ने तेस्रो व्यक्ति भएकी छन् । उत्तरी प्रान्त भिसेन्जाको एउटा ड्राइभिङ स्कुलमा आँखा परीक्षण पास गरेपछि क्यान्डिडा उदेर्जोलाई नयाँ लाइसेन्स दिइएको थियो ।
उडेर्जोले लाइसेन्स लिएपछि पत्रकारहरुसँग बोल्दै आफूलाई आफ्नो गाडी आफै कुदाउन मन पर्ने र आफ्नो छोरालाई आफ्नो गाडी चलाउन दिन मन नपर्ने बताएकी छन् । ‘ड्राइभिङ लाइसेन्स नवीकरण हुँदा म निक्कै खुसी छु । १०० वर्षसम्म बाँच्ने म भाग्यमानी ठहरिएँ, र यो उमेरमा पनि यति स्वास्थ्य हुनु मेरो लागि पनि अचम्मको कुरा हो । मलाई कुनै रोग छैन र मैले खाने औषधी भनेको त्यही कहिलेकाँही निद्राको चक्की मात्र हो ।’
उडेर्जोको आँखाको ज्योति यति राम्रो छ कि उनी अहिले पनि चस्मा नलगाई अखबार पढ्न सक्छिन् । इटाली सय वर्ष नाघेको सबैभन्दा ठूलो जनसंख्या भएको युरोपेली मुलुक हो । ८० वर्षभन्दा माथिका मानिसले प्रत्येक दुई वर्षमा गाडीको ड्राईभिङ लाईसेनस नविकरण गर्नुपर्ने हुन्छ । यो उमेर समूहका ड्राइभरले लाइसेन्स दिने कार्यालयमा उनीहरू शारीरिक र मानसिक रूपमा फिट छन् भनी सुनिश्चित गर्ने चिकित्सकीय प्रमाणपत्र उपलब्ध गराउनुपर्छ ।