हरेक वर्ष झैँ नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । त्यही अटो शो लाई लक्ष्य गरेर आज सोल्टी होटेलमा पत्रकार सम्मेलन चलिरहेको छ ।
सम्मेलनमा नाडाका अध्यक्ष ध्रुब थापाले अहिले चलिरहेको बिषय इम्बोस्ड नम्बर प्लेटको बारेमा पनि बोलेका छन् । उनले, यदी सरकारले सुरक्षाका दृष्टिले इम्बोस्ड नम्बर प्लेट आवश्यक देखेको हो भने सरकार आफैंले जडान गरिदिन पर्ने बताएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सवारी दर्ता हुँदा सुरुमा सामान्य खालको नम्बर प्लेट लगाउनुपर्ने र पुनः अर्को शुल्क तिरेर इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था गलत भएको बताएका हुन् । थापाले नयाँ सवारी दर्ता हुँदा नै इम्बोस्ड नम्बर प्लेट दिन र उपभोक्तालाई दोहोरो मार पर्ने नियम हटाउन माग गरेका छन् ।
साथै, भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको स्टलको लागी जेठ २६ देखि ३० गतेसम्म बुकिङ रजिष्ट्रेशन खुलाईने भएको छ। सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको यो १५औं संस्करण हो ।
नाडा अटो शोका लागि ठाउँ साँघुरो भएकाले गोला प्रथामार्फत स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, बैंक तथा वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याईएको छ । अटो शोमा यसवर्ष व्यवसायिक सवारी साधनलाई पनि समावेश गराईनेछ ।