नेपाली कांग्रेसका नेता गगन थापाले आज प्रतिनिधि सभामा बोल्दै नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन्। थापाले पेट्रोलियम पदार्थमुक्त देश बनाउँन सम्बन्धित निकायलाई कति वर्षभित्र के गर्ने कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।
‘नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ। महत्वकांक्षी योजनाका साथ हामीले दश वर्षभित्र यसलाई निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौं हामी। कर घटाएर मात्र हुन्न। यसको उपाय भनेको पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउने हो,’ उनले भने।
यसका साथै, थापाले मिल्छ भने अझै पेट्रोलियम पदार्थको मूल्य घटाउँन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
हिजो मात्रै सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ घटाएको थियो । योसँगै अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पुगेको छ ।