अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लगाईएको पूर्वाधार करवापत १० रुपैयाँ घटाउँन उद्योग मन्त्रालयलाई जानकारी पठाएको छ । यसपछि नेपाल आयल निगमले यस विषयमा आधिकारिक रुपमा घोषणा गर्ने छ ।
पूर्वाधार कर घटे पेट्रोलको प्रतिलिटर मूल्य १७० पर्न जान्छ तर आयल निगमलाई यो मूल्य कतिको सहज हुन्छ भनेर प्रश्न उठ्न सक्छ । किनकि अहिले निगमलाई काठमाडौं आइपुग्दा पेट्रोल प्रतिलिटर १९४.६४ रुपैयाँ पर्न जान्छ । निगमले १४ रुपैयाँ घाटा खाएर सर्वसाधारणलाई पेट्रोल बेचिरहेको छ । निगमले अहिले पनि पेट्रोलमा एक अर्ब रूपैयाँ घाटा खाइरहेको बताएको छ ।
अहिले निगम घाटामा गईरहेको अवस्थामा भन्सारबाट पूर्वाधार कर घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन गाह्रो हुने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका जनाएका छन् ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ ।
हालको मूल्य अनुसार सरकारले पेट्रोलमा प्रतिलिटर ६३.२३ र डिजेलमा ४५.९१ रुपैयाँ कर लिदै आईरहेको छ । सरकाले प्रतिलिटरमा निगम प्रशासन खर्च ०.६० रुपैयाँ, बीमा खर्च ०.०७ रुपैयाँ, ढुवानी भाडा ६.६ रुपैयाँ, प्राविधिक नोक्सानी १.३८ रुपैयाँ, डिलर खर्च र नाफा ६.१२ रुपैयाँ थप शुल्क लिने गरेको छ ।