भारतीय कम्पनी कोमाकीको क्रुजर इलेक्ट्रिक बाइक प्रि–बुकिङ गरेका केही ग्राहकले प्राप्त गरेका छन् । नेपालका लागि कोमाकीको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले ग्राहकलाई यो बाइक डेलिभरी गरेको हो ।
अब बाइक खरिद गर्न चाहने ग्राहकले फेरि बुकिङ गर्नु पर्नेछ । कम्पनीले बाइक बुकिङ गरेको १५ दिनमा डेलिभरी गरिदिने जनाएको छ । कम्पनीले यस बाइकको नेपाली मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकेको छ ।
इलेक्ट्रिक क्रुजर बाइक कोमाकीमा ४-किलोवाटको ब्याट्री प्याक र ४,००० वाटको मोटर रहेको छ । यसले एक पटकको फुल चार्जमा १८०-२२० किलोमिटरको दुरी तय गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा ७२ भोल्ट ५० एएचको लिथियम आयोन ब्याट्री छ, जसलाई करिब ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
यसमा केहि बजाज एभेन्जरको डिजाइन जस्तो ह्यान्डलबार, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, ग्लोसी क्रोम-ट्रीटेड डिस्प्ले रहेका छन् । यसको राइडर सिट एकदम आरामदायी रहेको छ ।
लामो दुरीको यात्रालाई लक्षित गरेर बाइकको दुबै छेउमा प्यानियर राखिएको छ । यसमा ब्लुटुथ साउन्ड सिस्टम, साइड स्ट्यान्ड सेन्सर, क्रुज कन्ट्रोल फिचर, एन्टी थेफ्ट लक सिस्टम र डुअल स्टोरेज बक्स रहेको छ ।