स्थानीय तहको निर्वाचनका कारण यातायात विभागले लाइसेन्सको आवेदन मिति सारेको छ । निर्वाचनको नजिताका कारण आवेदन खुलाउने मिति प्रभावित परेको भन्दै विभागले मिति सारेको हो ।
विभागले जेठ ४ गतेदेखि लाइसेन्सको आवेदन खुलाउँने तयारि गरेको थियो । तर निर्वाचनको कारणले कर्मचारीको कमि हुदाँ प्राविधिक काम नसकिएको हुनाले विभागले मिति सारेको विभागका महानिर्देशक नमराज घिमिरेले जनाएका छन् । उनले भने, ‘पुरानो डाटा नयाँ सफ्टवेयरमा इन्टिग्रेसन गर्न नभ्याउँदा भोलिदेखि खुल्ने लाइसेन्सको आवेदन मिति सार्नु पर्ने बाध्यता परेको हो ।’
विभागले कर्मचारी फर्किए लगतै अर्को सातासम्ममा लाइसेन्सको आवेदन खोल्ने उनले बताए । आवेदनको चाप बढेको भन्दै विभागले गत चैत्रदेखि आवेदन बन्द गरेको थियो । आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो।