यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुलाउँने भएको छ । विभागले नयाँ प्रणालीसँगै लाइसेन्सको आवेदन खुलाउँन लागेको हो । यसअघि आवेदन दिएका सबैको पालो सकाएर नयाँ प्रणाली लागु गर्ने योजना भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जनाएका छन् ।
नयाँ व्यवस्थामा पहिले सीमित आवेदन लिने र उनीहरुको १५ दिनभित्रै ट्रायल सकाएर बल्ल नयाँ आवेदन लिइने विभागको योजना छ । यसले गर्दा लामो समय सम्म कुर्नु पर्ने अवस्था नहुने विभागको भनाइ छ ।
उनले भने, ‘यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा अन्तिम चरणमा पुगेको छ।’ विभागले जेठ १ गतेदेखि आवेदन खुलाउँने योजना बनाएको थियो तर चुनावले गर्दा जेठ ४ बाट मात्र खुल्ने भएको छ ।
आवेदनको चाप बढेको भन्दै विभागले गत चैत्रदेखि आवेदन बन्द गरेको थियो । आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। विभागले सबै आवेदकको ट्रायल यहि बैशाखको अन्तिम सातातिर सकिने गरि काम गरिरहेको छ ।