साउदी अरब विश्वकै ठूलो इन्धन उत्पादक देशमध्ये हो । विद्युतीय सवारीको बिक्री बढ्नु इन्धन बिक्रेता देशको लागि राम्रो भने अवश्य होइन । तर साउदी अरब सरकारले घोषणा गरेको छ कि उसले आफ्नो वातावरणीय विविधीकरण गर्न १० वर्ष भित्र न्यूनतम ५० हजार विद्युतीय सवारी र अधिकतम १ लाख सवारी साधन खरिद गर्न लुसिडसँग सम्झौता गरेको छ ।
सोही क्रममा सरकारले कार्बन उत्सर्जन घटाउन र दिगो यातायातको प्रयोगलाई प्रवर्द्धन गर्न यो सम्झौता गरेको घोषणा गरेको थियो । लुसिडले साउदी सरकारलाई २०२३ सम्म वार्षिक १ देखि २ हजार कार आपूर्ति गर्नेछ। त्यस्तै तेलको धनी साउदी अधिराज्यलाई लुसिडले २०२५ देखि भने वार्षिक ४ देखि ७ हजार कार दिनेछ ।
सम्झौतामा लुसिडको इलेक्ट्रिक सेडान मोडल एयर, साथै ग्रेभिटी एसयूभी र अन्य इलेक्ट्रिक कारहरू समावेश छन् जुन ब्रान्डले भविष्यमा उत्पादन गर्नेछ । विद्युतीय सवारीसाधन बिक्री सम्झौता भिजन २०३० योजनाको एक हिस्सा हो, जसले साउदी राज्यको अर्थतन्त्रलाई जीवाश्म इन्धनबाट टाढा लैजाने लक्ष्य राखेको छ ।