नयाँ जेनेरेसन ‘सुजुकी एस्कुडो २०२३’ कम्प्याक्ट एसयूभी जापनमा लन्च भएको छ । यो कम्प्याक्ट एसयूभी भारतमा सुजुकी भिटारा ब्रेजाको नामले बेचिन्छ । कम्पनीले केही समस्याले गर्दा यो गाडीको बिक्रि बन्द गरेको थियो तर अब भने यो नयाँ अवतारका साथ नयाँ फिचरसहित बजारमा लन्च भएको छ । यो गाडीमा नयाँ हाइब्रिड पावरट्रेन रहेको छ जसले कारको माइलेज बढाउन सहयोग गर्दछ ।
यो गाडीले २०१४ देखि बजारमा आफ्नो स्थान बनाउँदै आईरहेको छ । २०१८ मा टर्बोचार्ज्ड इन्जिनको साथै केही फिचरमा जोडेर यो गाडीको अपडेटेड भर्जन निकालिएको थियो । साथै २०२० मा यो गाडी ४८-भी माइल्ड-हाइब्रिड टेक्नोलोजीको साथ लन्च गरिएको थियो । अबको नयाँ भर्जनमा भने १४०-भी फुल-हाइब्रिड टेक्नोलोजी उपलब्ध रहेको छ ।
नयाँ एसयूभीमा १.५ लिटर डुअलजेट, पूर्ण हाइब्रिड प्रविधिसहितको ४ सिलिन्डर इन्जिन रहेको छ । यो एसयूभीले अधिकतम ९९ पीएस पावर र १३२ एनएमको टर्क जेनेरेट गर्दछ । इन्जिनलाई विद्युतीय मोटरसँग जोडिएको छ जसले ३३ एचपी र ६० एनएम पावर जेनेरेट गर्दछ ।