नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल तथा नासा फाउन्डेसन र स्वतन्त्रता अभियानको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ।
नेपालमा बढ्दो सवारी दुर्घटना र त्यसमा मोटरसाइकल दुर्घटना तथा त्यसको असर, सुरक्षित हेल्मेटको आवश्यकता र प्रविधि, हेल्मेटसम्बन्धी ऐन कानुन तथा दुर्घटनापछिको उद्धार, उपचार र पुनस्र्थापनाका साथै नेपालमा क्रियाशील निकायहरूको भूमिका बारेमा छलफल भएको थियो।
कार्यक्रममा फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) द्वारा प्रदान गरिएको हेल्मेट समेत प्रदर्शन र वितरण गरिएको थियो। कार्यक्रममा सडक दुर्घटनाबाट बच्न हेल्मेटको अनिवार्य प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले सुरक्षाका लागि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने बताए। उनले भने, ‘सडक सुरक्षामा पद र धनभन्दा व्यक्तिको चेतनामा विकास हुनु जरुरी छ, धेरैजसो सडकको बनोटले पनि दुर्घटना निम्त्याउने गरेको छ।’ उनले सवारी साधनको पनि समय–समयमा चेकजाँच गर्नुपर्ने बताए। सडकमा सीसी क्यामेरा अनिवार्य हुनुपर्नेमा जोड दिँदै अध्यक्ष तिमिल्सेनाले भने, ‘ट्राफिकले पनि कडाभन्दा कडा नियमको पालना गराउनुपर्छ।’ दुर्घटना भइहाले तत्कालै अस्पताल लैजाने व्यवस्था हुनुपर्ने उनले बताए।