बाइक धेरै प्रयोग गर्नु वा सवारी साधन किन्दा बाइक नै किन्नुको कारण यो सस्तो हुनु मात्रै होइन । हरेक बाइक चालकहरुलाई थाहा हुन्छ कि बाइकले तेल खपत कम गर्छ, जसले गर्दा बाइक किफायति मानिन्छ । तर तेलहरुको बढ्दो मुल्यले गर्दा बाइक चलाउनु पनि सस्तो छैन । 😭 सबैलाई आफ्नो बाइकले धेरै भन्दा धेरै तेल खपत कम गरोस् र बढि यात्रा गर्न सकियोस् भन्ने चाहना हुन्छ ।
यहाँ हामीले यसैकारण बाइकको तेल खपत घटाउन सकिने ५ स्मार्ट र सबैले सक्ने काइदाहरुका बारेमा जानकारी दिदैछौँ । यी काइदाहरु पढेर र आफुले प्रयोग गरेर पनि आफ्नो बाइकको तेल खपत घटाउन सक्नु हुन्छ ।
स्मार्ट टिप्स १ : टायरको एयर प्रेसर सँधै जाँच गर्नुहोस्
आफ्नो बाइकको टायरको एयर प्रेसर कस्तो छ भन्ने थाहा पाउने कुरालाई नम्बर १ मा राख्नुहोस् । नियमितरुपमा बाइकको प्रेसर जाँच गर्ने कुरा कति महत्वपुर्ण हुन्छ भने बाइक निर्माताहरुले आफ्नो म्यानुअलमा पनि उनीहरुले यसलाई लेखेका हुन्छन् । यदि टायरको एयर प्रेसर कम छ भने यसले तेल खपत बढाउँछ । यसैले बाइक चलाउँदा नियमित टायरको एयर प्रेसर दुरुस्त राख्ने गर्नु पर्छ ।
स्मार्ट टिप्स २ : बाइक सँधै सुरक्षित र एकनाशले दौडाउनुहोस्
जस्तो सुकै बाटोमा एकदमै अनियमित गतिमा बाइक दौडाउने बानी सुरक्षाका हिसाबले पनि सहि होइन । यसले असुरक्षा त बढाउँछ नै, सँगसँगै बाइकको तेल खपत पनि बढाउँछ । यसलै सकेसम्म बाइकलाई एकनाशको गतिमा दौडाउनुहोस् । आजभोलिका बाइकहरुमा कुन गतिमा बाइक दौडाउँदा तेलको सबै भन्दा उत्तम प्रयोग हुन्छ भन्ने संकेतहरु पनि राखिदिएका हुन्छन् । त्यसलाई लागू गर्नुहोस् ।
स्मार्ट टिप्स ३ : अलिबेर पर्खिनु पर्ने भए स्टार्ट बन्द गर्नुहोस्
ट्राफिक लाइटमा होस् या कसैलाई पर्खिदा होस्, जहिलै पनि केहि बेर पर्खिनु पर्ने भयो भने स्टार्ट बन्द गर्नुहोस् । यसका बारेमा थप भनिराख्न नपर्ला कि बाइक बन्द गर्यो भने पक्कै पनि तेल प्रयोग हुदैन र बचत हुन्छ ।
स्मार्ट टिप्स ४ : घामले भेट्ने ठाउँमा बाइक पार्क नगर्नुहोस्
बाइक पार्किङ गर्दा सकेसम्म घामले प्रत्यक्ष भेट्ने ठाउँमा पार्क नगर्नुहोस् । यसो गरेमा बाष्पिकरणबाट थोरै थोरै मात्रामा गर्दा पनि निकै तेल उडिरहेको हुन सक्छ । यसैले बाइकलाई छायाँमा पार्क गर्ने गर्नु पर्छ । अन्डरग्राउन्ड पार्किङ छ भने त्यो असाध्यै सहि ठाउँ हुने गर्छ ।
स्मार्ट टिप्स ५ : नियमित सर्भिसिङ गराउनुहोस्
यो उपाय तेल खपतका लागि मात्रै होइन, बाइकलाई तन्दुरुस्त राख्नका लागि पनि उपयोगी हुन्छ । यसैले कम्पनीले तोकिए बमोजिमको सर्भिसिङ नियमितरुपमा गराइराख्न पर्छ । सर्भिसिङमा पैसा जोगाउनका लागि अबेर गर्ने बानी गर्नु भएको छ भने बदल्नुहोस्, यसले तत्कालका लागि केहि पैसा जोगिए जस्तो त हुन्छ तर केहि पछि त्यो भन्दा बढि खर्च गराउँछ । त्यस्तै तेल खपत बढाउने भएकाले तत्कालका लागि पनि खर्चिलो यात्रा भइराखेको हुन्छ ।