नेपालमै एसेम्वल गरी र्याप्टर ब्रान्डले डर्ट मोटरसाइकल विक्री गर्ने भएको छ । बाइक एसेम्वलको काम भने बिक्रेता कम्पनी एड्भेन्चर ह्विल्सले समालेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गरि कम्पनीले बाइक वैशाखबाट विक्री सुरू गर्ने छ ।
चाइनिज कम्पनीको सहकार्यमा वाइकमा बिशेष प्रकारको पावरफुल इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ । एड्भेन्चर ह्वीलले र्याप्टर ३०० एल, ३०० आर र ३०० आरआर मोडल बजारमा उपलब्ध गराउने छ । कम्पनीले सातदोवाटोमा आफ्नो शोरुम संचालनमा ल्याएर बाइकको विक्री त्यहीबाट सुरू गर्नेछ ।
नेपाली डिजाइनमा रहने यो बाइक नेपाली युवाले मनपराउने कम्पनीका संचालक उज्वल जिसीले बताए । उनले भने, ‘नेपाली रोडहरुको अध्ययन गरेर हामीले यो बाइक ल्याउन लागेका हौं । यो बाइक टर्क र पावर उच्च रहेको छ । यसका विशेष किसिमको स्टिल राखिएको छ जसले यो बाइकको तौल कम गर्दछ । ‘
र्याप्टर मोडलको मूल्य ७ लाख रुपैयाँबाट सुरु हुने जनाइएको छ । साथै, र्याप्टरका मोटरसाइकलमा ३ वर्षको वारेन्टी उपलब्ध हुने जनाएको छ ।