गाडीमा ह्यान्डब्रेकको काम के हो थाहा होला । तर केही यस्ता व्यक्तिहरू पनि छन्, जो भर्खरै गाडी चलाउन लागेका छन् र उनीहरूलाई ह्यान्डब्रेकको बारेमा थाहा छैन वा धेरै कम थाहा छ । यसकारण धेरै पटक मानिसहरूले ह्यान्डब्रेक प्रयोग गर्दा गल्ती गरिरहेका हुन्छन् । र तिनीहरूमध्ये जाे कार चलाउन नयाँ छन्, उनीहरुले त झन् धेरै गल्ती गर्छन् ।
यदि तपाई ड्राइभिङ स्कूलमा कार चलाउन सिक्दै हुनुहुन्छ भने, तपाईँको प्रशिक्षकले कारको ह्यान्डब्रेक देखाउनु हुनेछ र तपाईँलाई यसको बारेमा जानकारी दिनुहुने छ । तर नेपालमा धेरै मानिसहरूले ड्राइभिङ स्कूलबाट कार चलाउन सिकेका छैनन् । सिके पनि गम्भिरतापुर्वक सिक्नेहरुको कमि नै हुन्छ । त्यसैले उनीहरूलाई यो प्रयोग गर्न अलि गाह्रो लाग्छ । हामी तपाईलाई कसरी ह्यान्डब्रेक प्रयोग गर्ने भनेर बताउँछौं ।
ह्यान्डब्रेक के हो?
सबै भन्दा पहिले तपाईलाई ह्यान्डब्रेक भनेको के हो भनेर थाहा पाउन जरुरी छ । कारहरूमा दुईवटा मुख्य ब्रेकहरू हुन्छन् । एउटा तपाईंको खुट्टाद्वारा संचालित हुन्छ । याे पेडलमा जोडिएको हुन्छ र कारको एक्सेलेटरको बायाँ छेउमा राखिएकाे हुन्छ, जसलाई तपाईंले गाडी चलाउँदा ढिलो गर्न वा रोक्न प्रयोग गर्नुहुन्छ ।
अर्को ब्रेक हातले संचालित हुने भएकाेले यसलाई ह्यान्डब्रेक भनिन्छ । धेरैजसो कारहरूमा यो गियरस्टिक नजिक चालकको सिट छेउमा रहेको लीभर तानेर सञ्चालन गरिन्छ । तपाईंले कार रोकेर बन्द गर्दा मात्र ह्यान्डब्रेक प्रयोग गर्नु पर्दछ । धेरैजसो कारहरूमा ह्यान्डब्रेकलाई लिभर तानेर सञ्चालन गरिन्छ । तर अहिलेका धेरै आधुनिक कारहरूमा सानो बटन थिचेर ह्यान्डब्रेक सञ्चालन गर्न सकिन्छ ।
ह्यान्डब्रेक कहिले र कसरी प्रयोग गर्ने?
कारमा भएका ब्रेकहरुमा एउटा खुट्टाले प्रयोग गर्ने ब्रेक र अर्को हातले प्रयोग गर्नु पर्ने ब्रेकहरुको काम पनि फरक फरक छ । फरक अवस्थामा तिनीहरुको प्रयोग हुन्छ । यहाँ हामी ह्यान्ड ब्रेक कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने बारेमा लेख्दैछौँ ।
१. कार पार्क गर्दा:
तपाईंको ड्राइभिङ परीक्षणको समयमा परीक्षकले तपाईंलाई कम्तिमा एक पटक पार्क गर्न लगाउने छ । तपाईंको कार पार्किङमा राखेपछि, जब तपाईंको कार पूर्ण रूपमा रोकिन्छ, तब कारको ह्यान्डब्रेक प्रयोग गर्नुपर्छ । याे बुझ्नु पर्छ कार लामो वा छोटो अवधिका लागि पार्क गर्दा पनि ह्यान्डब्रेक प्रयोग गर्न बिर्सनु हुदैन ।
२. जब कार रोकिन्छ:
जब तपाईँ ट्राफिक लाइटमा रोकिनुहुन्छ, तब कारमा ह्यान्डब्रेक प्रयोग गर्न सक्नुहुन्छ । तपाई लामो समयको लागि ट्राफिक लाइटमा अड्किएको हुनुहुन्छ भने त झन् ह्यान्डब्रेक प्रयोग गर्नु सबै भन्दा उत्तम विकल्प हुन सक्छ ।
३. आपतकालीन ब्रेक पछि:
तपाईंले गाडी आपतकालीन राेक्नु पर्दा खुट्टाकाे ब्रेक प्रयोग गर्नुपर्छ र यदि तपाईं म्यानुअल कार चलाउँदै हुनुहुन्छ भने, खुट्टाकाे क्लच प्रयोग गर्नुहुन्छ । तर एकपटक कार रोकिएपछि तपाईंले ह्यान्डब्रेक लगाउनुपर्छ र आफ्नो कारलाई न्यूट्रलमा राख्नुपर्छ ।
४. हिल स्टार्ट:
यदि तपाई पहाडी क्षेत्रमा गाडी कुदाउदै हुनुहुन्छ भने उकालो वा ओरालोमा कार रोकिएमा ह्यान्डब्रेक प्रयोग गर्नुहोस् । यसले तपाईको गाडी पछाडी सर्न वा ओरालो तिर जान रोक्छ । तपाईलाई कार नियन्त्रण गर्न सजिलो बनाउँछ ।