‘थोपा थोपाले समुन्द्र बन्छ’ भन्ने कुरा हामीले पहिलेदेखि नै सुन्दै आइरहेका छौं । अहिले पुन: यो कुरा भारतको तमिलनाडुमा प्रमाणित भएको छ । तमिलनाडुका एक व्यक्तिले सिक्का-सिक्का जम्मा गरेर आफ्नो ड्रिम बाइक ‘डोमिनार ४००’ भारतिय मूल्य २.६ लाखमा खरिद गरेका छन् । उनले ३ वर्षदेखि दैनिक १ रुपैँयाको सिक्का जम्मा गर्दै आइरहेका थिए ।
धेरै सिक्का रहेको हुनाले डिलरसिपलाई गन्न १० घण्टा लागेको इन्डिया एजेन्सीका प्रबन्धक महाविक्रांतले जनाएका छन् ।
उनले तीन वर्षअघि नै बजाज डोमिनार ४०० किन्ने सपना देखेका थिए तर पैसाको अभावले उनको सपना साकार हुन सकेको थिएन । त्यतिबेला बाइकको भारतिय मूल्य २ लाख रहेको थियो ।
उनले आफ्नो सपना पूरा गर्न युट्युब च्यानलबाट प्राप्त रकमबाट एक/एक रुपैयाँको सिक्का संकलन गर्न थाले । उनि भन्छन्, ‘मैले झण्डै तीन वर्षदेखि मन्दिर, होटल, चिया पसलबाट नोटको सट्टामा सिक्का लिने गरेको छु ।’
बाइक किन्नुअघि उनले बजाज डोमिनार ४०० को अनरोड मूल्य २.६ लाख रुपैयाँ पुग्ने कुरा थाहा पाए । रकम पर्याप्त भएपछि उनि भारत एजेन्सीका प्रबन्धक महाविक्रान्त कहाँ पुगे र बाइकको मूल्य सिक्कामा तिर्न दिन आग्रह गरे । सुरुमा प्रबन्धकले अस्विकार गर्दै २ हजारको नोटमा १ लाख रुपैयाँ गन्दा बैंकले १४० रुपैयाँ कमिसन लिने कुरा बताए । तर पछि उनको लगाव र मिहेनतलाई कदर गर्दै महाविक्रान्तले उनको सपना पूरा गरिदिए ।