सवारी चालक लाइसेन्सको असहजता कायम नै छ । अहिलेलाई नयाँ आवेदनहरु बन्द गरिएको छ तर पनि असहजता तत्कालै सहज हुने अवस्था देखिदैन । किनभने विभागमा अहिले पनि लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदनहरुका चाङ छन् ।
नयाँ लाइसेन्स र नविकरण लाइसेन्सहरुका लागि कार्ड दिन विभागलाई समस्या परिरहेको छ । परीक्षा उत्तीर्ण गरेकाहरूले पनि लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । नवीकरण गर्नेहरू पनि पर्खाइमा छन् । विभागले दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिने गरेको छ ।
यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो । गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौता अनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो । त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो ।
कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन । निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो । लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन् । नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ । उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन् ।
तर पछिल्लो समय ट्रायल उत्तीर्ण भएकाहरूलाई परीक्षणकालीन लाइसेन्स दिन थालेपछि केही सहज भने भएको विभागले बताएको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको हो । यस्तो लाइसेन्स ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको छ ।
अस्थायी कार्ड वितरण सुरू भएसँगै पछिल्लो समय खरिद गरेको १४ लाख कार्डले अझै केही समय थेग्ने विश्वास विभागको छ । अस्थायी कार्डलाई विभागले एक वर्षको मान्यता दिएको छ । एक वर्षसम्म पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ । पाँच पटक भन्दा कम कारबाहीमा परेको निश्चित भए पछि मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन् ।
यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागको भनाइ छ । तर विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ । यहि कार्डले लाइसेन्स कार्ड वितरणमा केहि सहज बनाएको छ ।