जापनिज कम्पनी टोयोटाले भारतमा अप्रिल १ देखि सबै प्रकारका सवारीसाधनको मूल्य बढाउने भएको छ । कम्पनीले बढ्दो लागतको प्रभावलाई कम गर्न सबै मोडलका गाडीहरुमा ४ प्रतिशतले मूल्य बढाउन लागेको हो ।
फर्च्युनर र इनोभा क्रिस्टा जस्ता मोडलहरू बिक्री गर्ने कम्पनीले कच्चा पदार्थलगायतको मूल्य बढेकाले मूल्यवृद्धि गरेको कम्पनीले जानकारी दिएको छ ।कम्पनीले उपभोक्तामा परेको बढ्दो लागतको असरलाई न्यूनीकरण गर्न आवश्यक सबै प्रयास गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले गत जनवरीमा टोयोटा हिलक्स पिकअप ट्रक ल्याएको थियो तर कुनै कारण नदिई कम्पनीले हिलक्सको बुकिङ बन्द गरेको थियो । कम्पनीले यसको चाडैं नै मूल्य निर्धारित गरेर सार्वजनिक गर्ने योजना बनाइरहेको छ । यसका साथै कम्पनीले हालै २०२२ ग्लान्जा प्रिमियम ह्याचब्याक लन्च गरेको छ ।
आगामी दिनमा सबै कम्पनीको कारको मूल्य बढ्ने जानकारहरु बताउँछन् । अन्य कम्पनीले पनि चाँडै नै आफ्नो कारको मूल्य बढाउन सक्ने विश्वास गरिएको छ । अडी र मर्सिडिज बेन्ज जस्ता लक्जरी कार निर्माताहरूले पनि अप्रिल १ देखि मूल्य बढाउने योजना बनाएका छन् ।