चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन फेरि सुरु हुने मिति निश्चित भएको छ । आवेदन दिनेको चाप अत्याधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चित कालका लागि आवेदन प्रणाली बन्द गरेको थियो । तर अब नयाँ प्रणाली अनुसार चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन जेष्ठ १ गतेबाट पुन: सुरु हुने भएको छ ।
हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ । यी आवेदनहरुलाई आगामी जेठ १६ गतेभित्र सक्ने गरी काम भइरहेको आयोगले जानकारी दिएको छ । यसका लागि परीक्षा सञ्चालनलाई तीन सिफ्टमा गर्ने गरिको तयारी भइरहेको छ । यदि ३ सिफ्टमा काम भएमा विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो र बेलुका पनि परीक्षा सञ्चालन गर्नेछ ।
हाल आवेदन दिएर परीक्षाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता छ । कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुई बर्ष कुर्नु पर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो ।
देशभर २३ यातायात कार्यालय छन् । यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयहरूमा छ । उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन् ।