नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक विक्रेता फेरिएको छ। एमभी दुगर ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले बिक्री गर्दै आएको रोयल इन्फिल्डको बिक्री अबबाट त्रिवेणी ग्रुपले गर्ने भएको हो। सम्भावना हुँदा हुँदै पनि अपेक्षित दरमा बजार विस्तार गर्न नसकेको एमभी दुगडको आधिकारिक विक्रेताको जिम्मेवारी खोसिएको चर्चा छ । यसअघि एमभी दुगडले निशान गाडीको आधिकारिक विक्रेताको जिम्मेवारी पनि गुमाएको थियो ।
विश्वकै पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्ड धेरै युवाको आकर्षको केन्द्रमा भएपनि यसको बजारीकरण बलियो बन्न सकेको थिएन । यसकै कारण कम्पनीले त्रिवेणी समूहलाई नेपालमा नयाँ आधिकारिक विक्रेता तोकेको हो । त्रिवेणी समूहले नेपालमा उत्पादन, कृषि, ट्रेडिङ, बैंकिङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।
रोयल इन्फिल्डको बिक्री त्रिवेणी ग्रुपले गर्ने भएसँगै दुगर ग्रुपसँग भने दुई पांग्रेमा अब अप्रिलिया र भेस्पा स्कुटरहरू मात्रै छन्। सन् १९७२ देखि विभिन्न ब्रान्ड बिक्री वितरण गर्दै आएको कम्पनीले महिन्द्राका कमर्सियल भेइकल, अमेरिकन ट्याक्टर ब्रान्ड जोन डियर पियाजीयोको थ्री ह्विलर लगायत एक दर्जन ब्रान्डका उत्पादन पनि बिक्री गर्दैछ।
दुगर ग्रुपले सन् २००१को अन्तिमतिर रोयल इन्फिल्डलाई नेपाली बजारमा भित्र्याएको थियो। कम्पनीले २० वर्षको अवधिमा आफ्नो उपभोक्ताहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै बजार विस्तार गरेको छ।
नेपाली बजारमा विशेष युवा पुस्तामाझ लोकप्रिय रोयल इन्फिल्डका बाइकहरूको विभिन्न मोडल उपलब्ध छन्। सर्वाधिक बिक्री हुने ‘बुलेट’ मध्ये इन्फिल्डको क्लासिक ३५० पनि एक हो। यसबाहेक बजारमा यसको ६ वटाभन्दा बढी मोडलहरू उपलब्ध छन्।
हाल रोयल इन्फिल्डको देशभर १९ वटा आउटलेट छन्। काठमाडौंमा बालाजु, बालकुमारी र नक्सालमा तीन वटा आउटलेट छन् भने उपत्यका बाहिर पोखरा, इटहरी, बुटवल, नारायणगढ, बिराटनगर, नेपालगंज, जनकपुर, दमक लगायत ठाउँमा छन्।