सरकारले रेल्वे अध्यादेश जारी गरेको छ । २२ वैशाख, २०७८ र १५ मंसिर २०७८ मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएको थियो । अहिले पनि यसअघि जारी भएका अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर अध्यादेश जारी गरिएको हो ।
अध्यादेश जारी भएसँगै सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ । कानुन नभएकाले रेलले औपचारिक रुपमा उद्घाटन भएर पनि यात्रुलाई सेवा दिन सकेको थिएन । अब केहि दिनमा नै यात्रु सहितको सेवा दिन सक्ने छ ।
३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर पनि रेल सेवा सञ्चालन हुन सकेको थिएन ।
रेल्वे कम्पनीका अनुसार टिकट छाप्नेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पनी कोंकण रेल्वेसँग सम्झौता गर्नेसम्मका सबै काम भइसकेका छन् । भारतले ५ कात्तिक २०७८ मा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको थियो ।
जनकपुर-जयनगर रुटमा चलाउन तामझामसहित असोज २०७७ पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो । पछिल्लो महिनामा भने परीक्षणका रुपमा रेल नियमित रुपमा रित्तै चलाउन सुरु गरिएको थियो । गत हप्तादेखि रेल दिन बिराएर चलाउन थालिएपनि यात्रु चढाइएको छैन ।