मोटरसाइकल नेपालका लागि सजिलो सवारी साधन हो । आजको समयमा मोटरसाइकल धेरै कामकाजीहरुका लागि अत्यावश्यक कुरा हो । त्यस्तै कतिपयका लागि उच्च मूल्यका मोटरसाइकलको रुचि पनि हुन सक्छ । तर आफ्नो पैसा नयाँ मोटरसाइकलमा खर्च गर्न नसक्ने अवस्था हुन सक्छ । यस्तोमा आफ्नो आवश्यकता र रहर पुरा गर्न पनि सेकेन्ड ह्यान्ड मोटरसाइकल उचित हुन सक्छ ।
त्यस्तै, मोटरसाइकल बेच्नु पर्ने पनि विभिन्न कारणहरु हुन सक्छन् । केहि समय चढे पछि मर्मतसम्भारका लागि समय र पैसा खर्च गर्नु भन्दा नयाँ मोटरसाइकल किन्न सहि मानेर पनि कतिपयले आफ्नो मोटरसाइकल बेच्न चाहन्छन् । कतिका अरु विभिन्न कारणहरु हुन सक्छन् तर सबै कारणहरु सहि नहुन पनि सक्छन् । चोरीका वा असाध्यै ठुलो खर्च गर्नु पर्ने अवस्थाका सेकेन्ड ह्यान्ड मोटरसाइकल पनि हुन सक्छन् ।
यसैले सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्दा धेरै कुराहरुलाई ख्याल गर्नु पर्छ । हामीले यहाँ सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दा ध्यान दिनु पर्ने केहि कुराहरु सूचिकृत गरेका छौँ । पक्कै पनि तपाई वा तपाईका नजिकका कसैले सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्न लाग्दै हुनुहुन्छ भने यो टिप्स उपयोगी हुनेछ ।
१. भनेको नपत्याउनुहोस्, साधन र कागजात हेर्नुहोस्
तपाईको नियत राम्रो छ भन्दैमा मोटरसाइकल बेच्नेको पनि नियत सहि छ भने नहुन सक्छ । यसैले कसैले भनेकै भरमा मोटरसाइकल किन्न तयार नहुनुहोस् । अझ सुन्दा विछट्टै मन लोभ्याउने शर्तहरु छन् भने झन् सजग हुनुहोस् । मोटरसाइकल किन्नु भन्दा पहिले कागजात र मोटरसाइकलको चेकजाँच गर्ने कुरामा सहमति जनाउनुहोस् । सके सम्म आधिकारिक डिलरहरुबाट किन्ने गर्नुहोस् । कुनै रिकन्डिसन हाउसबाट किन्दै हुनुहुन्छ भने त्यसको स्थापना भएको मितिका बारेमा बुझ्नुहोस् । अहिले त त्यस्ता पसलहरुको फेसबुक पेज हुन्छन् । छन् भने तिनमा आएका कमेन्टहरुले पनि धेरै जानकारी दिन्छन् । त्यसपछि नम्बर २ पछिका टिप्सहरुमा ध्यान दिनुहोस् ।
२. मोटरसाइकलको अवस्था
मोटरसाइकलको अवस्थामा लगभग सबैले ध्यान दिइन्छ । दिनु पनि पर्छ । किनभने मोटरसाइकललाई मालिकले कसरी ह्यान्डल गरेको छ र बाइकलाई कति हेरचाह गरेको छ भनेर मोटरसाइकलको अवस्थाले देखाउँछ । मोटरसाइकलको भौतिक अवस्था जाँच गर्न धेरै समय नलाग्ने हुनाले तपाईले सहजै मोटरसाइकलको अवस्था जाँच गर्न सक्नु हुन्छ । यसका लागि बाहिरबाट देखिने कुराहरु सबै छन् कि छैनन् ? छन् भने कस्तो अवस्थामा छन् ? जस्ता कुराहरु हेर्नुहोस् । पेंच र बोल्ट खोज्नुहोस् । यस्ता साना मसिना कुराका विभिन्न भागबाट हराइरहेका हुन सक्छन् ।
मोटरसाइकलको ब्रेकहरुको अवस्था के कस्तो छ ? तेल चुहिने छ कि छैन ? भर्खरै धोएको बाइक छ भने याद गर्नुहोला कि तेल लागेको भाग अरु भन्दा बढि चम्किन्छ । चेन तथा अगाडि र पछाडिका टायरहरुको अवस्था हेर्नुहोस् । तेलको ट्याङ्कीमा खिया परेको छ कि चेक गर्नुहोस् । सस्पेन्सन भत्किएको छ कि छैन भन्ने पनि ख्याल गर्नु पर्छ । त्यस्तै धुँवा जाने पाइप र ब्याट्रीको अवस्था पनि चेक गर्नुहोस् । बत्तिहरु सबै ठिक ढंगले बलेका छन् कि छैनन् भन्ने पनि जाँच गर्नु पर्छ ।
३. नयाँ र पुरानो मुल्यको फरक
सोही मोडलको नयाँ मोटरसाइकलको मूल्य कति पर्छ भन्ने पहिले नै आधिकारिक स्रोतबाट जानकारी लिइराख्नुहोस् । यसले गर्दा यति सम्म दौडिसकेको मोटरसाइकललाई यतिसम्म मूल्य लगाउन सकिन्छ भन्ने आंकलन गर्न सकिन्छ । नयाँ भन्दा असाध्यै कम मूल्य भनिएको छ र एकदमै बहानाहरु बनाइएका छन् भने तुरुन्त विश्वास नगर्नुहोेस् ।
४. कति प्रयोग भएको छ र सर्भिसिङ नियमित छ कि छैन ?
मोटरसाइकलको किलोमिटर गणना सहि छ कि छैन भन्ने जाँच गर्नुहोस् र कति कुदेको छ भन्ने हेर्नुहोस् । यदि सम्भव छ भने, बाइकको सर्भिसिङ इतिहासको बारेमा पनि पत्ता लगाउन प्रयास गर्नुहोस् । हुन त कतिपयले सर्भिस सेन्टरमा नलगी आफैले पनि सर्भिसिङ गरेका हुन सक्छन् तर मालिकसँग कुरा गरेर सर्भिसिङ आफैले गर्न सक्ने नसक्ने थाहा पाउन सकिन्छ । बाइक पुरानो भएमा वा धेरै कुदेको भएमा माइलेज कम दिने सम्भावना अधिक हुन्छ । तेल खपत कति गर्छ भन्ने थाहा पाउनुहोस् ।
५. टेस्ट ड्राइभ गर्नुहोस्
आफैले मोटरसाइकल केहि बेर कुदाए पछि मोटरसाइकलको अवस्थाका बारेमा धेरै कुराहरु थाहा पाउन सकिन्छ । यसैले टेस्ट ड्राइभ गर्नुहोस् । टेस्ट ड्राइभ गर्दा एक दुई मिनेट नभएर केहि लामो समय कुदाउनुहोस् । मोटरसाइकलका पार्टसहरु हल्लिएका छन् कि छैनन्, ब्रेक तथा क्लचहरु कतिको स्मुथ छन् भन्ने कुराहरु पनि यसैबाट थाहा पाउन सकिन्छ । अझ किलोमिटर र तेलको मात्रा पनि टिपोट गरेर केहि लामो टेस्ट ड्राइभ गर्न सकियो भने माइलेजको पनि केहि अनुमान हुन सक्छ । पिक अप लगायतका कुराहरु त तुरुन्तै थाहा पाउन सकिन्छ । यसैले टेस्ट राइडको समयमा राम्रो ड्राइभको लागि मोटरसाइकल प्रयोग गर्न नहिचकिचाउनुहोस्।