अहिले भारत सरकारले पेट्रोल र डिजेलमा निर्भरता हटाउन जनतालाई वैकल्पिक इन्धन प्रयोग गर्न निरन्तर सल्लाह सुझाव दिइरहेको छ । सरकारले आम जनताका लागि बायोफ्युल आउटलेटहरू खोल्न लागेको छ र यसबाट चल्ने सबै कार, बाइक र रिक्शाहरूले फ्लेक्स फ्युल इन्जिन पाउने भारतका केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले जनाएका छन् ।
भारतमा सरकारले पेट्रोल र डिजेलको निर्भरता हटाउन विभिन्न कोसिस गरिरहेको छ । यसको लागि सरकारले विद्युतीय गाडीमा ध्यान दिनुको साथै इथानोल र हाइड्रोजन इन्धनको प्रयोगमा पनि धेरै जोड दिइएको छ ।
यसका साथै सरकारले उडान उद्योगमा इथानोल प्रयोग गर्ने सम्भावनाहरू पनि खोजिरहेको छ । टेलिकम टावरमा डिजेलको सट्टा इथानोल प्रयोग गर्ने सकिने गडकरीले बताए । भारतमा दुईवर्ष अघि गणतन्त्र दिवसको अवसरमा लडाकु विमानहरू इथानोलको प्रयोग गरेर उडाईएको थियो ।
यसअघी गडकरीले अटो रिक्शादेखि महँगो लक्जरी कारसम्म इथानोलले चाडैँ नै चल्ने बताएका थिए । केन्द्रिय मन्त्रीले भारतमा इथानोलको उत्पादन बढाउनु पर्ने जोड दिएका छन् र किसानलाई इथानोलको आपूर्ति बढाउन सामान्य खेतीको सट्टा यसको उत्पादनमा प्रयोग हुने बाली उत्पादन गर्न आग्रह गरेका छन् ।