विश्व नै यातायातको साधनका लागि पेट्रोलियम पदार्थमा आधारित साधनहरुमा निर्भर छ । यसले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने समस्याहरुको मात्रा निरन्तर बढ्दैछ । यसका अतिरिक्त पेट्रोलियम पदार्थहरु भविष्यमा सकिने अवस्था बनेको छ ।
यसैले संसारभर नै पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनहरुको विकल्पमा विद्युतीय सवारी साधनहरुलाई बढावा दिइदैछ । तर के भइरहेको छ भने पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरु भन्दा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरु महंगा हुने गरेका छन् । दीर्घकालमा विद्युतीय सवारी साधनहरुले फाइदा पुर्याए पनि तत्कालिकरुपमा भने यी खर्चिला जस्ता हुने भएकाले आममानिसहरुसम्म विद्युतीय साधनहरुको पहुँच पुगिसकेको छैन ।
यस्तो अवस्थामा विद्युतीय सवारी साधनहरुको मूल्य घट्नु पर्नेमा झन् बढ्ने देखिएको छ । विश्व प्रसिद्ध अमेरिकी ब्रान्ड टेस्ला होस् कि चिनियाँ ब्रान्ड बीवाइडी सबैले आफ्ना उत्पादनहरुको मूल्य बढ्न सक्ने संकेत गरिसकेका छन् । यसले गर्दा संसारभरका अन्य विद्युतिय सवारी साधनका उत्पादकहरुले पनि आफ्ना उत्पादनका मूल्य बढाउनु पर्ने अवस्था बन्न सक्छ ।
समस्या ब्याट्री बनाउन प्रयोग गरिने लिथियमको हो
लिथियम कार्बोनेटको विश्वका कुल उत्पादन सन् २०२१ मा ४ लाख ८५ हजार टन रहेको थियो । तर त्यसयता विद्युतीय सवारी साधन उत्पादन र त्यसमा निकै ठुलो परिवर्तन भइसकेको छ । अहिले लिथियम कार्बोनेटको माग उच्च भएको छ । यसको गति यति धेरै छ कि सन् २०२३ मा यसको उत्पादन दुई गुणाले बढेर ८ लाख २१ हजार टन पुग्ने अनुमान गरिएको छ ।
तर मागका आधारमा यो उत्पादन निकै कम हो । यसैले लिथियमको उच्च मागका कारण यसको मूल्य निरन्तर बढ्दो छ । मार्चमा मात्रै यसको मुल्य ७५ प्रतिशतले वृद्धि भएको समाचारहरु आइरहेका छन् । सन् २०२० सँगको मूल्यमा तुलना गर्ने हो भने वृद्धि अस्वभाविक देखिन्छ । सन् २०२० मा लिथियम प्रति टन ८ हजारको छेउछाउमा थियो भने सन् २०२१ मा मुल्य दोब्बरले बडेर १६ हजार डलर पुगेको थियो । अहिले चीनमा प्रतिटन ७८ हजारको आसपासमा लिथियमको कारोबार भइरहेको छ ।
विश्वमा लिथियमको आपूर्ति गर्ने मुलुकहरु अष्ट्रेलिया, चीन, अर्जेन्टीना, चिली हुन् भने अष्ट्रेलिया पहिलो ठुलो निर्यातकर्ता हो । यसै पनि मागको चाप बेहोरिरहेको लिथियमको आपूर्तिमा सर्बियन सरकारको निर्णयले थप समस्या बढाएको छ । सर्बियन सरकारले एउटा ठुलो लिथियम खानीको लाइसेन्स खारेज गरिदिएको छ । यसले गर्दा विश्व बजारमा लिथियमको आपूर्ति व्यवस्था बिग्रिएको छ ।
यहि कुराले गर्दा विश्व बजारमा ब्याट्रीको मूल्यका कारण विद्युतीय सवारी साधनहरुको मूल्य बढ्ने देखिएको हो ।