ट्राफिक नियम सचेतनाका लागि लमजुङको बेँसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको आयोजना र बेँसीशहर नगरपालिकाको आर्थिक सहयोगमा रेसको आयोजना गरेको हो ।
‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने मूल नाराका साथ रोटा सप्ताहको अवसर पारेर प्रतियोगिता सञ्चालन गरेको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगितामा रेशम भारती सबैभन्दा बिस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भए । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा अनुप श्रेष्ठ दोश्रो र सन्दीप लामा तेस्रो भए ।
तीव्रगतिले दिनानुदिन सवारी दुर्घट्ना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यक्रमले सर्वसाधारणमा सचेतना मिलेको कार्यक्रमका सहभागीले बताएका छन् ।
प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मिलेको बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने रोटरी डिस्ट्रिक ३२९२ का सहायक गभर्नर डा.तिलकबाबु घिमिरेले बताए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकालाई ट्रफी, प्रमाणपत्र र हेलमेटसहित पुरस्कार दिइएको आयोजक संस्थाले जनाएको छ ।