सवारी साधनको लाइसेन्सका लागि नेपाल ऐतिहासिक रुपमा समस्या छ भन्दा पनि हुन्छ । यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन (सवारी चालक अनुमति पत्र) आवेदन फेरि बन्द गरेको छ भने नयाँ लाइसेन्स पाएकाहरु तथा नविकरण गरेकाहरुका हातमा पनि सहजै लाइसेन्स उपलब्ध हुदैन । स्मार्ट लाइसेन्स भनिए पनि लाइसेन्स हात पार्ने तरिका भने स्मार्ट नभइदिदा ट्रायल पास भएकाहरु पनि धेरैका हातमा स्मार्ट लाइसेन्स पर्न सकेको छैन । मानिसहरु ट्रायल पास भएको वा नविकरण गरेको रसिदलाई लेमिनेसन गरेर बोक्न बाध्य छन् ।
के थियो योजना ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले १४ लाख स्मार्ट लाइसेन्स छपाइ सुरू कार्यक्रममा बोल्दै लाइसेन्स अभाव समस्या समाधान गरिने बताएकी थिइन् । अझ उनले लाइसेन्स लिन टाढाटाढा धाउनुपर्ने बाध्यता हटाउन पहल गर्ने उल्लेख गरेकी थिइन् । मन्त्री यादवले आगामी दिनमा हुलाकबाटै स्मार्ट लाइसेन्स सम्बन्धित व्यक्तिको घरघरमा पुर्याउने व्यवस्था गरिने समेत उद्घोष गरेकी थिइन्।
के भइरहेको छ ?
वास्तविकता भाषणजस्तो सजिलो हुन सकेको छैन । विभागले भने अनुसार दैनिक तीन सिफ्टमा दैनिक दस हजार कार्ड छपाई पनि हुन सकेको छैन । फागुनको आधा बित्न लाग्दा हालसम्म एक लाख ८५ हजार कार्ड मात्रै छापिएको छ । दैनिक छ हजार कार्ड छपाइ भइरहेको छ । यहि गतिमा कार्ड छपाउँदा महिनामा बढिमा १ लाख ८० हजार मात्रै कार्ड छपाइ गर्न सकिन्छ । यसले पनि कार्डको माग पुरा गर्न सक्दैन ।
स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो । गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो । त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो ।
कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन । निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो । लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन् । नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ । विभागका अनुसार हाल चार लाखभन्दा बढी चालक स्मार्ट कार्डबाट बञ्चित छन् । उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन् ।