गोल्छा ग्रुपले विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउनको लागि आर्थिक सहयोग गरेको छ। ‘टिम सिरेटो’ को नामले चिनिने थापाथली क्याम्पस अध्ययनरत विद्यार्थीहरुको समूहले सन् २०२० मा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएका थिए। नेपालबाट शेल इको म्याराथनमा भाग लिने पहिलो ईभी टिम अर्थात विद्युतीय सवारी टोली पनि ‘टिम सिरेटो’ रहेको छ।
प्रारम्भिक समयमा टोलीले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने आदि जस्ता गतिविधिहरूबाट सुरु गरेको थियो र गत महिना टोलीले सवारी साधनको डिजाइन र विकासको काम उत्साहजनक र सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले गाडीको नाम ‘मैचा’ राखेको छ।
विभिन्न ठाउँमा राइड टेस्ट गरेपछि यो गाडी पुर्णरुपमा प्रतिस्पर्धा गर्न तयार भएको छ। यो गाडी प्रतियोगिताद्वारा प्रदान गरिएको नियम पुस्तिकामा निर्देशन र स्पेसिफिकेशनहरू अनुसार बनाईएको टोलीले जनाएको छ। ‘मैचा’मा भएको ब्याट्रीले १ किलोवाट आवर चार्जबाट १५० किलोमिटर बढि रेन्च कभर गर्न सक्दछ।
साथै टिमले ईभी सम्बन्धित विभिन्न प्रकारका अनुसन्धान र अन्धययन गरेर नेपाली विद्युतीय गाडी क्षेत्रलाई दिगो भविष्यमा योगदान पुर्याउने जनाएको छ। यसको लागि उनिहरुले सरकारसँग सहयोगको अपेक्षा पनि गरेका छन्।